यश कुमारलाई गीत गाउन दिएनछन्

चलचित्र बाटो मुनिको फूलबाट नायक तथा निर्माताको पगरी गुथेका गायक यश कुमारले यो चलचित्रको सफलता सँगै अन्य चलचित्रमा पनि काम पाउन थालेका छन् । धेरैले बाटो मुनिको फूललाई मन पराए । राम्रो भएको प्रतिक्रिया दिए । उनीसँगै चलचित्रको सिंगो युनिटको तारिफ पनि भयो । हुन त यो चलचित्रबाटै नायक बनेका गायक बाबु बोगटीले पनि यस पछि केही चलचित्रमा अभिनय गरिसकेका छन् । तर अहिले कुरा गरौ नायक तथा गायक यश कुमारकै । यश कुमारले बाटो मुनिको फूल पछि चलचित्र वीरमा अभिनय गर्दैछन् । बाटो मुनिको फूलमा यशकी नायिका रेखा थापा थिईन् भने वीरमा पनि रेखा नै छिन् । तर निर्देशक, निर्माण युनिट र अन्य कलाकार भने फरक छन् ।
आखिर निर्माण युनिट र प्राबिधिक जो भए पनि के भो र अभिनय त अभिनय नै हो । यशले पनि चलचित्रमा अभिनय गरे । तर जब उनि सुटिङमा पुगे तब थाहा पाए मुलधारका नेपाली चलचित्रको बास्तबिक कहानी ।

चलचित्र छायाँकनका क्रममा आउने बाधा ब्यवधान र अफ्ठ्यारा परिस्थितीको हैन उनले थाहा पाए चलचित्रको कथा, सम्बाद र संगीतको स्थिती । यहि क्षेत्रमा लागेको मान्छेले बास्तबिक कुरा थाहा पाए त के भो ? भन्न जति सजिलो भए पनि व्यवहारमा यशलाई त्यति सजिलो लागेन । भन्छन्, 'किन नेपाली चलचित्रले फड्को मारेन भनेको त यस्तै यस्तै कारणले पो रैछ ।' के रैछ त त्यस्तो कारण ? बुझ्दै जाँदा थाहा भयो निर्माण युनिटले उनलाई गीत गाउन दिएनछन् ।

यशले त दिपक लिम्बुको स्वरमा लिप्सीङ दिए रे ! कस्तो बिडम्बना ? उनि भन्छन्, 'बलिउड र हलिउडमा पनि गायक गायिकाहरु फिल्म खेल्छन् तर उनिहरु आफुले नाच्ने गीतमा आफै स्वर दिन्छन् । मैले त दिपकको स्वरमा लिप्सीङ दिनु पर्‍यो ।' यति मात्रै हैन यशको गुनासो अझै धेरै छ । उनि भन्छन्, 'चलचित्रमा सुरेश अधिकारीको संगीत छ । मलाई त गीत सुन्दा हिन्दी फिल्मका गीतसँग हुबहु मिलेको लाग्यो । एउटा मात्रै हैन चलचित्रका सबै गीतहरु हिन्दी सँग मिल्छन् ।'  आफूले यो कुरा निर्माण युनिटलाई भन्दा उनीहरूले यस्तै गीत नै हिट हुने गरेको बताएछन् । निर्माण युनिटको कुरा सम्झँदै उनी भन्छन्, 'संगितकारलाई आफ्नो सृजना गर्न पनि दिइदो रहेनछ यहाँ त । निर्माण युनिटले भने जस्तै संगीत तयार पार्दा संगीतकारलाई पो असर पर्ने रै'छ ।'

यश कुमार अभिनित यस चलचित्रलाई दिपक श्रेष्ठले निर्देशन गरेका छन् । रम्भा ओलीले निर्माण गरेको चलचित्रको चैत्र दोस्रो साताबाट छायाँकन शुरु गरिएको थियो । सो चलचित्रको दाङ, पोखरा र काठमाडौमा छाँयाकन गर्दा गर्दै बिचैमा स्थगित गरीएको छ । चलचित्रको छायाँकन कहिले सकिन्छ भन्ने कुरामा सबै जना अन्यौलमा छन् ।

No comments: