पुरूषहरूको कथामा आधारित रहेर चलचित्र 'लोग्ने मान्छे'

बास्तवमा पुरूष कस्ता हुन्छन् ? उनीहरूले के चाहन्छन् ? उनीहरूको चाहना के हो त ? यि यावत प्रश्नहरूको उत्तर तपाईं खोज्दै हुनुहुन्छ भने केहि महिना पर्खनुहोस् । किनकी कलाकार उत्तम केसीले पुरूषहरूको कथामा आधारित रहेर चलचित्र 'लोग्ने मान्छे' निर्माण गर्दैछन् ।

निर्देशक लय संग्रौलासँग मिलेर उनले लोग्ने मान्छेको चरित्रमा आधारित रहेर पारिवारिक चलचित्र निर्माण गर्दैछन् । बिश्वका ९० % पुरूषहरूको चरित्रमा आधारित रहेर निर्माण गर्न लागिएको सो चलचित्रको छायाँकन असार १५ बाट गरिने निर्माता केसीले जानकारी दिए । लय संग्रौलाको कथा, गीत तथा निर्देशन रहने सो चलचित्रमा नायक सुमन सिंहले लोग्ने मान्छेको प्रतिनिधित्व गर्ने करिब पक्का भएको छ । उनलाई नायिकाद्वय झरना थापा र सिर्जना बस्नेतले साथ दिने केसीको भनाई छ ।

चेतन सापकोटाको संगीत रहने सो चलचित्रका अन्य कलाकार र प्राबिधिकको छनोट कार्य जारी रहेको उत्तमले बताए । उनले भने, 'अबको केहि दिनमा सबै कुराको फाईलन हुन्छ ।' चलचित्रको सम्पूर्ण छायाँकन काठमाण्डौमा नै गरिने भएको छ । दर्जनौं चलचित्रमा कलाकार तथा निर्माण नियन्त्रक भएर काम गरेका उत्तमले यस अघि 'मनमनै मन पराएँ' नामक चलचित्र निर्माण गरेका थिए ।

No comments: